Thursday, March 4Nepal News Portal
Shadow

‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन भन्ने मेरो मान्यता बदलिएको छैन’- सुवास नेम्वाङ


काठमाडौं, पुस २२ (ससं) । प्रधानमन्त्रीलाई संसद विघटनको छुट संविधानले नदिएको भन्ने आफ्नो डेढ वर्षअघिको अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि झनै नैतिक संकटमा परेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आफू संसद विघटनको विपक्षमै रहेको खुलासा गरेका छन्।

धुलिखेलमा पत्रकारहरुलाई प्रशिक्षण गर्ने क्रममा गत वर्ष साउन ४ गते नेम्वाङले आवेश या रिसको भरमा प्रधानमन्त्रीको संसद भंग गर्ने अधिकार २०७२ को संविधानले हटाएको खुलाएका थिए।

तर पछिल्लो पटक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न विवादमा प्रधानमन्त्री ओलीको ‘दूत’का रुपमा चिनिएका नेम्वाङले ओलीलाई संसद भंग गर्नबाट रोक्न नसकेको भन्दै तीब्र रुपमा आलोचना भइरहेको छ।

ओली कदमबारे सार्वजनिक टिप्पणी गर्न नचाहिरहेका नेम्वाङले उक्त भिडियोमा आफूले राखेको मान्यतामा अहिले पनि कुनै पनि बदलाव नआएको बताएका छन्।

तर प्रधानमन्त्री ओलीले आफूले संसद विघटन गर्न हुन्न भन्दै दिएको सल्लाह नमानेको गुनासो नेम्वाङले आफू निकट केही नेताहरुलाई भनेका छन्।


नेम्वाङका अनुसार पार्टीको विवाद पनि साम्य हुने स्थितिमा पुगिरहेका बेला ओलीले थोरै आवेगमा आएर संसद भंग गरेका हुन्।

उनले भनेका छन्,‘ पार्टी विवादको समाधानका लागि प्रचण्डसँग डिल गर्न मलाई र शंकर पोखरेललाई जिम्मा दिनुभएको थियो। हामीले आफ्नो प्रतिष्ठा सम्झिँदै खुमलटार र बालुवाटार गरिरहेका थियौँ। तर हतारमा ससद भंग गर्ने निर्णयमा प्रधानमन्त्री पुग्नुभयो। म यसबाट दुःखी छु।’

तर यसबारे आफ्नो धारणा सार्वजनिक गर्दा त्यही कुरा लिएर सर्वोच्च अदालतमा जाने सम्भावना पनि रहेको र त्यसबाट अदालतलाई प्रभावित पारेको आरोप लाग्ने भएकाले आफू यसमा अहिले मौन बस्न बाध्य भएको नेम्वाङले उनीहरुलाई सुनाएका छन्।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्