काठमाडौं, पुस २४ (ससं) । राष्ट्रिय वाणिज्य बैंकले ब्राण्ड एम्बेसडरमा ‘मिस नेपाल वल्र्ड २०२०’ नम्रता श्रेष्ठलाई नियुक्त गरेको छ । आज (शुक्रबार) राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि.बीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बेसडरमा मिस नेपाल श्रेष्ठलाई नियुक्ती गरिएको बताए । कार्यक्रममा दी हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बेसडर हुन पाउदा अत्यन्त खुसी लागेको जानकारी दिइन् । बैंकको नीति अनुसार यो वर्ष ब्राण्ड एम्बेसडरमा २०२० की मिस नेपाल नम्रता श्रेष्ठलाई नियुक्त गरिएको बैंकले जनाएको छ।
बैंकले हाल सातवटै प्रदेशका ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।