काठमाडौं, (ससं) । शेयर कारोबारमा ‘टी प्लस टु’ लागू गर्ने सहमति भएको छ । सिडिएस एण्ड क्लियरिङ कम्पनी र ब्रोकर कम्पनीहरुबीच आज भएको छलफलमा माघ दोस्रो हप्तादेखि नै ‘टी प्लस टु’ लागू गर्ने गरी काम अगाडी बढाउँने सहमति भएको हो ।
उक्त सहमी अनुसार ब्रोकरहरु पनि आगामी हप्तादेखि नै टि प्लसटु लागु गर्न सहमत भएका छन् । अब आगामी आइतबार बस्ने बोर्ड बैठकले टि प्लस टु लागु गर्ने मिति तोक्ने सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए । ‘ब्रोकर प्रतिनिधिहरुसँग आजको छलफलफल सकारात्मक भयो । उहाँहरु पनि आफ्नो तयारी पुरा गरेर आगामी हप्तादेखि नै टिप्लस टु लागु गर्ने सहमतिमा हुनुहुन्छ ।’ उनले भने–‘यसको मिति भने आगामी आइतबार बस्ने बोर्ड बैठकले नै निधारण गर्ने छ ।’
आचार्यले भने–‘सम्भवत माघ ११ गते आइतबारदेखि नै टि प्लस टु लागु हुन्छ होला । सिडिएससीले यसको पूर्ण तयारी गरिसकेको छ । ब्रोकर कम्पनीहरु पनि आफ्नो तयारीमा लागेका छन् ।’
हालसम्म शेयर कारोबारमा टी प्लस थ्री लागू हुँदै आएको छ । अर्थात कारोबार भएको दिनपछिको तीन दिनभित्र मात्रै राफसाफ हुँदै आएको छ । शेयर कारोबार हुँदा किन्ने र बेच्नेबीच एक किसिमको करार सिर्जना हुन्छ । सो करार कार्यान्वयन हुनु नै राफसाफ हो । राफसाफ भएपछि मात्रै शेयर बेच्नेको बैंक खातामा पैसा जम्मा हुन्छ भने किन्नेको डिम्याट खातामा शेयर जम्मा हुन्छ ।