Tuesday, March 9Nepal News Portal
Shadow

नेकपाले केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने


काठमाडौं, ६ असोज (सस) । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना करिब २ सय ५० केन्द्रीय सदस्यलाई नियमित रुपमा आर्थिक सहयोग प्रदान गर्ने भएको छ। आइतबार नेकपाको सचिवालय बैठकमा यो एजेन्डामा छलफल सुरु भएको बताइएको छ ।

कुनै लाभको पदमा नरहेका केन्द्रीय सदस्यहरुलाई पार्टीले नियमित रुपमा आर्थिक सहयोग गर्ने निर्णय भएको हो । केन्द्रीय सदस्यमा २५० को हाराहारीमा सदस्य छन् । तर, उक्त रकम तलब नभएको बताइएको छ ।

एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि यो सहयोग रोकिएको र अहिले पुनः सुरु गर्न लागिएको बताइएको छ । रकम कति हो भनेर अहिलेसम्म टुंगो लागेको छैन। यस विषयमा आर्थिक विभागले आवश्यक निर्णय गर्ने बताइएको छ । यसअघि एमालेले आफ्ना केन्द्रीय सदस्यलाई मासिक १० हजार र स्थायी कमिटीका सदस्यलाई १५ हजार रुपैयाँ रकम उपलब्ध गराउँदै आएको थियो।

माओवादीले पनि सशस्त्र विद्रोहको समयमा आफ्ना सेना तथा कार्यकर्तालाई पकेट खर्चका रुपमा मासिक ५ सय रुपैयाँ दिने गरेको थियो। नेताहरुको हकमा भने आफूले गरेको खर्चको विवरण टिपेर पार्टीलाई बुझाउने चलन थियो। शान्ति प्रक्रियामा आएपछि लडाकुहरुलाई सरकारले क्यान्टोनमेन्टमा राख्यो। उनीहरुलाई समायोजन नहुन्जेल सरकारले नियमित रुपमा तलबको व्यवस्था गरेको थियो।

एक सचिवालय सदस्यका अनुसार पहिले दिएको रकमभन्दा बढी रकम दिनेगरी सचिवालयमा छलफल भएको छ। एक जिल्लाबाट अर्को जिल्लामा जान र टेलिफोनलगायतका खर्चका लागि पार्टीले यस्तो रकम उपलब्ध गराएको बताइएको छ ।

Total Page Visits: 11 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्