Saturday, February 27Nepal News Portal
Shadow

फेवातालको नयाँ क्षेत्रफल ५.७२ वर्ग किलोमिटर


काठमाडौं, (ससं) । फेवातालको नयाँ क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी (५.७२ वर्ग किलोमिटर) रहेको भन्दै सिमांकन समितिले प्रतिवेदन तयार पारेको छ । तत्कालिन जिल्ला विकास समिति कास्कीका सभापति पुण्य पौडेलको संयोजकत्वमा गठित फेवाताल सिमांकन तथा नक्सांकन समितिले नयाँ क्षेत्रफल सहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

समितिका संयोजक पौडेलले ११ हजार २ सय ५५ रोपनी क्षेत्रफल कायम गरेको प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको बताए । ‘हामीले सिमांकन गरेको क्षेत्रफल तोकेर प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएका छौ,’ पौडेलले भने, ‘अब ताल संरक्षणमा झनै सहज हुनेछ । मन्त्रिपरिषद्ले नयाँ क्षेत्रफलबारे निर्णय सार्वजनिक गर्नेछ ।’

यसअघि पोखरा उपत्यका नगरविकास समितिका पुर्व अध्यक्ष विश्वप्रकाश लामिछाने संयोकत्वमा गठित आयोगले गरेको अध्ययन अनुसार फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्ग किलोमिटर) तोकिएको थियो । २०६९ जेठमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई भट्टराईलाई त्यो प्रतिवेदन बुझाइएको थियो । लामिछानेका अनुसार १२ हजार ८ सय ७४ रोपनीमध्ये ९ हजार ९ सय ५५ रोपनी भने पानीले ढाकेको क्षेत्रफल थियो । २०३८ सालमा यूएनडिपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ११ हजार ४०० रोपनी (५.८ वर्गकिलोमिटर) तोकेको थियो । अहिले मापन गरेको क्षेत्रफल २०३८ को भन्दा पनि थोरै रहेको छ ।

नेपालमा २०३२ देखि मात्र नापी सुरु भएको हो । त्यसअघि २०१४ मा भारतीय सेनाले नेपालको सर्भे गरेर दुईवर्षपछि सरकारलाई विवरण बुझाएको थियो । भारतीय सेनाको सर्भेमा समेत फेवाताल देखिएको थियो । तर, त्यसले क्षेत्रफल यकिन गरेको थिएन । मालपोत कार्यालयको फिल्डबुकमा समेत फेवातालको नाममा यति नै जग्गा छ भनेर उल्लेख छैन । फेवातालको नाममा जग्गा रहेको भनिएपनि क्षेत्रफल, चारकिल्ला सिमाना तोकिएको छैन । २०३१ जेठ २० गते तयार पारिएको फिल्डबुकमा फेवातालको नाममा जग्गा रहेपनि क्षेत्रफल कति भनेर उल्लेख गरिएको छैन । विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल तोक्दै आइएको थियो । तालको क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल २०३१ सालमा ६, २०३८ मा ५।८ र २०६९ सालमा ५.०६ वर्गकिलोमिटर (पानीको मात्रा) उल्लेख थियो ।

२०१७ सालमा फेवातालमा बाँध बाध्न थालियो । बाँध २०१९ मा पुरा भयो । त्यसपछि तालले स्वरुप लिईरहेकोमा २०३१ मा बाँध भत्कियो । बाँध भत्केर तालको पानी घटेको मौका पारेर केहीले कमाई गर्न थाले । त्यो बेला कमाई गरेको आधारमा जग्गा दर्ता हुने चलन थियो । ताल सुकेको मौका पारेर २०३३ सम्म केहीले तालको जग्गा व्यक्तिको नाममा दर्ता गरेको भएपनि धेरैले २०३२ मा गरेका थिए । २०३५ सालमा पुन बाँध बनेपछि तालले पुरानै रुप लिएको हो ।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्