विराटनगर, (ससं) । राजनैतिक रुपमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा) दुई पक्षमा विभक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पक्षले शनिबार (आज) विराटनगरमा शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बृहत आमसभाका लागि विराटनगर आउँदै छन्।
प्रतिनिधिसभा विघटनपछि उत्पन्न नेकपाभित्रको विवादसँगै प्रधानमन्त्री ओली र असन्तुष्ट पक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्ष मुलुक दौडाहमा रहेको छ।
पार्टीभित्रको विवादसँगै दुवै समूह आ आफ्ना कार्यकर्ताबीच समर्थनका लागि भेला र आमसभामा जुटिरहेका छन्। संसद विघटनपछि पहिलोपटक प्रदेश १ का कार्यकर्ताहरुलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगरमा आउन लागेका हुन्।
यसबीच शनिबार हुने प्रदेश १ स्तरीय आमसभा महानगरपालिका २ शंकरपुरस्थित खुला मैदानमा गरिने छ। आमसभाको लागि तयारी पूरा भएको स्रातले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे श्री एयरको विमानबाट विराटनगर पुग्ने छन्।
प्रधानमन्त्रीसँगै सभा सम्बोधनका लागि गृहमन्त्री रामबहादुर थापा र नेता सुवासचन्द्र नेम्वाङ पनि विराटनगर आउँदै छन्।
सभामा दुई लाख मानिस सहभागी हुने भएका छन् । उपस्थितिका लागि मुख्यतः मोरङ, सुनसरी, झापा र अन्य विभिन्न जिल्लामा १ हजार ५ सय सार्वजनिक बसको व्यवस्था गरिएको छ।