Saturday, February 27Nepal News Portal
Shadow

डा. केसीका माग र मन्त्रिपरिषद् हेरफेरबारे नेकपा बैठकमा छलफल


काठमाडौं, २१ असोज (ससं) । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबारको सचिवालय बैठकमा चिकित्सक प्रा.डा. गोविन्द केसीको जारी अनशन र समसामयिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसीको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जानकारी दिएका थिए ।

बैठकमा कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्रा डा केसीलाई आग्रह गर्ने निष्कर्ष निकालिएको थियो । डा केसी गत २४ दिनदेखि अनशनमा रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोली मंगलबार अनशनस्थल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी डा. केसीलाई भेटेको थियो । सरकारले डा केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ । जवाफमा डा केसीले औपचारिक वार्ता टोली गठन हुनुपर्ने माग गरेका थिए ।

मन्त्रिपरिपषदमा रिक्त तीन सदस्यको पूर्ति, अन्य हेरफेर र संवैधानिक निकायका रिक्त पदमा नियुक्तिबारे अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गृहकार्य जारी रहेकाले मंगलबारको बैठकमा त्यसबारे सामान्य मात्रै छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि असोज ६ गतेको बैठकले संविधान र कानून बमोजिम छिटो नियुक्ति प्रक्रिया अघि बढाउनका लागि पहल गर्न सरकारलाई आग्रह गरेको थियो । ती नियुक्तिका लागि पहल गर्न र सम्बन्धित पक्षलाई पनि सहयोग गर्न आग्रह गरेको बैठकले आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको कार्यादेश बमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प गरेको उनले बताए।

Total Page Visits: 4 - Today Page Visits: 4
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्